फोहरको सहर बन्दै

174
फोहरको सहर बन्दै

प्लास्टिकको डब्बा, पूरानो कपडा, टुटेको प्लेट, मरेको जनवार आदि यो दृश्य फोहोरको डंगुरमा पाइने सामान्य कुराहरु हुन् ।
फोहोरका कारण दुई छिमेकीबीच झगडा हुन त सामान्य कुरा हो । तर, अहिले यही फोहोरले दुई देशबीच तनावको कारण बनेको छ ।
होन्डुरस र ग्वाटेमालाको बीचमा रहेको क्यारेवियन सागरमा फैलिएको फोहोरको डंगुर टाढाबाट एउटा टापु जस्तो देखिन्छ । कहिले–कहिले यो फोहोर तैरिएर द्वीपहरुसम्म आइपुग्छ ।
केही हप्ताअघि फोहोर फैलिएर समुद्रमा तैरिँदै गरेको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
फोटोग्राफर क्यारोलाइन पावरले खिचेको रोआटन नामक पर्यटकीय द्वीपको नजिकै रहेको समुद्रको तस्विरमा जताततै फोहोर तैरिएको देख्न सकिन्छ ।
को जिम्मेवार ?
तस्विर प्रकाशित भएपछि र होन्डुरसको उत्तरी तटको कयौँ नगरपालिकाको तटसम्म फोहोर तैरिँदै पुगेपछि दुई देशका सरकारबीच बैठक समेत बसेको छ ।
स्थानीय अधिकारीहरुका अनुसार विगत तीन वर्षदेखि देखिएको यो समस्या कसरी हल गर्ने भन्ने विषयमा केन्द्रीत रहेको थियो । तर, बैठकमा यो फोहोर कसको कारणले भइरहेको छ भन्ने विषयमा चर्काचर्की नै परेको थियो ।
होन्डुरसले ग्वाटेमालामाथि ओमोआ, प्युर्टे कोर्टेस र बे आइल्याण्ड सम्म फोहोर फैलाएको आरोप लगाएको छ भने ग्वाटेमालाले होन्डुरसमाथि समुद्रमा फोहोर फालेको अरोप लगाइरहेको छ ।
दुई पक्षको बैठकपछि ग्वाटेमालालाई फोहोर नियन्त्रण गर्न पाँच हप्तको समय दिइएको छ ।
स्थानीयका अनुसार उनीहरुको बिहानको काम नै समुद्रको तटको फोहोर सफा गर्ने हुन्छ । ‘वर्षात्को बेला बिहानै फोहोर सफा गर्यो दिउँसो सम्म फेरि फोहोर जम्मा हुन्छ । सफा गरेन भने त हालत झन् खराब हुन्छ,’ प्युर्टे कोर्टेसकी ६० वर्षीय कार्लोस फोनसेकाले भने ।
उनले होन्डुरस वा ग्वाटेमाला कसले फोहोर गरिरहेको थाहा नभए पनि आफूहरुका लागि यो खराब सपना जस्तो भएको बताए ।
समूद्रको तटमा जम्मा हुने फोहोरका कारण त्यहाँ जान पनि अप्ठ्यारो हुन थालेको छ । यसले पर्यावरण, आर्थिक स्थिति र स्वास्थ्यमा पनि असर पर्न थालेको छ ।
यस विषयमा अध्ययन गरिरहेका अधिकारीहरुले समूद्रमा पाइएको ८६ प्रतिशत फोहोर ग्वाटेमालाबाट आउने गरेको बताउँछन् । त्यहाँ पाइएको फोहोरको निरिक्षण गर्दा धेरै वस्तुमा मेड इन ग्वाटेमालाको ट्याग भेटिएको थियो ।
यता ग्वाटेमालाका पर्यावरणमन्त्री सिडनी अलेक्जेन्डर स्यामुयल भने आफूहरु क्यारेबियन सागरमा प्रदूषण रोक्न प्रयास गरिरहेको बताएका छन् । तर, उनी भने यो फोहोर जम्मा हुनमा होन्डुरसको नदीहरु जिम्मेवार भएको दाबी गर्छन् ।
उनले ग्वाटेमालाको मोटागुवा नदीबाट फोहोर समुद्रमा पुगेको स्वीकार गर्दै होन्डुरसको कमिलिकान र उला नदीबाट पनि फोहोर समूद्रमा पुग्ने गरेको बताए । एक अन्य शोधकर्ता समुद्र फोहोर हुनमा होन्डुरस पनि उत्तिकै जिम्मेवार भएको बताउँछन् ।
दुई देशबीच फोहोर कसले गर्यो भन्ने विषयमा अहिले पनि विवाद जारी रहेको छ । यो विवाद समाधान नभएसम्म यस मुद्दाको ठोस समाधान पनि निक्लने देखिँदैन ।


SHARE

COMMENTS

यसमा तपाइको मत